सबैले भन्नुभयो,
“बधाई छ! तिमी आमा बन्यौ। अब त जीवनको सबैभन्दा खुसीको समय हो।”
म पनि मुस्कुराएँ…
तर त्यो मुस्कानभित्र कसैले नदेखेको पीडा लुकेको थियो।
रातभर बच्चा रोयो, म पनि रोएँ।
निद्रा हरायो, खाना खान मन लागेन।
सानो कुरामा पनि आँसु आफैं झर्थ्यो।
म आफैंलाई सोध्थें,
“के म राम्रो आमा बन्न सकिनँ?”
“किन म अरूजस्तो खुसी हुन सकिनँ?”
डर लाग्थ्यो…
यो कुरा कसैलाई भनें भने
“कमजोर छे” भनेर सोच्लान् कि भन्ने।
एक दिन श्रीमान्ले मेरो आँखा हेरेर भन्नुभयो,
“तिमी एक्लै यो सबै सहनुपर्दैन। हामी सँगै छौं।”
त्यसपछि मैले आफ्नो मन खोलेँ।
स्वास्थ्यकर्मीसँग कुरा गरेँ।
परिवारले साथ दियो।
बिस्तारै म फेरि आफूलाई भेट्न थालेँ।
आज म भन्न सक्छु—
सुत्केरीपछिको डिप्रेसन कमजोरी होइन।
यो बच्चा जन्मिएपछि देखिन सक्ने उपचार गर्न सकिने मानसिक स्वास्थ्य समस्या हो।
यदि तपाईं वा तपाईंको परिवारमा कुनै सुत्केरी आमा
लगातार उदास हुनुहुन्छ, धेरै रुनुहुन्छ, बच्चासँग घुलमिल हुन गाह्रो भइरहेको छ वा आशाहीन महसुस गरिरहनुभएको छ भने,
मौन नबस्नुहोस्।
समयमै स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोस्।
हरेक आमालाई केवल बच्चा जन्माउने होइन, माया, साथ, सम्मान र मानसिक सहयोग पनि आवश्यक हुन्छ।
किनभने स्वस्थ आमा नै स्वस्थ शिशुको पहिलो आधार हुन्।
